हेटौंडाको दुई वटा केन्द्रमा महिला मतदान अधिकृत
मकवानपुर । यही बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनअन्तरगत हेटौंडाको दुई वटा केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन् । हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये दुई वटा केन्द्रमा महिला मतदान अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ मावि (घ) को मतदान स्थलमा र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ पदमपोखरी (घ) को मतदान स्थलमा महिला अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
सहायक अधिकृत शर्माका अनुसार, हेटौंडा–२ सिद्धार्थ मावि (घ) को मतदान स्थलमा महिला अधिकृत विष्णुकुमारी लामिछाने र हेटौंडा–१२ महेन्द्र मावि पदमपोखरी (घ) को मतदान स्थलमा महिला अधिकृत शान्तिमाया मोक्तान खटिएका हुन् । हेटौंडा सबै वडामा मतपत्रसहितको निर्वाचन टोली प्रस्थान गरिसकेका छन् ।
निर्वाचनको लागि हेटौंडाको सबै वडामा आज र भोलि परिचयपत्र वितरणको कार्य संचालन गर्नुका साथै नमूना मतपत्रमा मत हाल्न सिकाइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । शुक्रबार भने बिहान ७ बजेदेखि मतदान प्रक्रिया आरम्भ हुनेछ ।
