श्रीलंकामा कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

एजेन्सी
२०७९ बैशाख २८,बुधबार १०:०९
file photo

श्रीलंका । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, पनि हिंसा रोकिएको छैन । सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको हो । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दशौं हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन् ।

सुरक्षाकर्मीको परिचालनका बाबजुद मंगलबार दिउँसो एउटा भीडले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सुरक्षा नदिएको आरोप लगाउँदै शहरका एक शीर्ष प्रहरी अधिकारीलाई आक्रमण गरेको थियो । कोलम्बोको गाले फेस ग्रीनमा पनि भीडहरू जम्मा भएका थिए । सोमबारदेखि भएको प्रदर्शनमा आठ जनाको मृत्यु भएको छ । झडपमा दुई सयभन्दा बढी घाइते भएका राजधानीको मुख्य अस्पतालले जनाएको छ ।