स्थानीय निर्वाचनका लागि मकवानपुरमा १७ सय कर्मचारी खटिए
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा १ हजार ७ सयभन्दा बढी कर्मचारी खटिएका छन् । जिल्लाको आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिकामा गरी १ हजार ७ सय ७० जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका र कैलाश गाउँपालिकाका ३५६ मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सरकारी कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
सबै मतदान केन्द्रहरुमा निर्वाचन सु–व्यवस्थित रुपमा संचालन गर्न प्रत्येक निर्वाचन अधिकृतले तीन जना स्वंयमसेवकको न्यूति गरी काममा प्रयोगमा ल्याइने भएको पनि सहायक निर्वाचन अधिकृत सागरप्रसाद शर्माले जानकारी दिए ।
जिल्लाको विभिन्न अतिसंवेदनशील केन्द्र र संवेदनशील मतदान केन्द्रको छनौट गरी सशस्त्र प्रहरी, जनपथ प्रहरी सरक्षाको लागि परिचालन गरिएको र प्रत्येक मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेनाको जनशक्तिलाई निगरानीको रुपमा राखिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेको प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेलले बताए ।
