सत्तारुढ गठबन्धनसँग हाम्रो प्रतिस्प्रर्धा हुँदैन : अन्नत पौडेल

तु खबर संवाददाता
२०७९ बैशाख २१, बुधबार १९:२१

मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार अनन्त पौडेलले सत्ता गठबन्धनसँग नेकपा एमालेको प्रतिस्प्रर्धा नहुने बताएका छन् । बुधबार एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को आयोजनामा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् ।

उनले हेटौंडाका वडाहरुमा देखिएको एमालेको लहर हेर्दा गठबन्धन धेरै होचो भइसकेको बताए । उनले नेकपा एमाले मुलुकको समृद्धको लागि जन्मिएको पार्टी र बृद्धबृद्धाहरुले माया गर्ने पार्टी भएको दावी गर्दै चुनावको मुखमा मात्रै जनता सामु पुग्नेहरुलाई चिन्नुपर्ने बताए । साथै उनले आफु हेटौंडाको मेयरमा निर्वाचित भए दश हजार लिटर खानेपानी निःशुल्क गरिदिने, अभिभावकबिहीन, विपन्न, गरिब विद्यार्थीहरुको उच्च शिक्षाको जिम्मा उपमहानगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गरे ।

उनले हेटौंडाको सबै वडामा नेकपा एमालेले विकासको फड्को मारेको बताउँदै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनका क्षेत्रमा धेरै सुधार भइसकेको बताए । पौडेलले १४ नम्वर वडामा निर्माणधीन रहेको भ्युटावर र सामुदायिक भवनहरुलाई व्यवस्थापन गर्ने बताउँदै नेकपा एमालेलाई मतदान गर्न आग्रह गरे ।

पौडेलले १४ नम्वर वडामा औद्योगिक क्षेत्र ल्याउन ठूलो भुमिका खेलेको बताउँदै गठबन्धन सरकारले गर्दा केही हुन नसकेको आरोप लगाए । ‘हाम्रो सरकार रहिरहेको भए सबै योजनाका कामहरु सम्पन्न हुन्थ्यो, ६२ करोडको बजेट छुट्याईएको छ भित्र काम केहिपनि गर्न सकेको छैन’ उनले भने, ‘त्यसैले गर्दा हामी निर्वाचित भएर आइसकेपछि औद्योगिक क्षेत्रको कामलाई गति दिनेछौं ।’

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य बलराम बल, नेकपा एमाले मकवापुरका नेता श्रीधर पोखरेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, हेटौंडा–१४ नम्वर वडाका वडाध्यक्ष उम्मदवार दिपक खड्कालगायतले मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी २६ जना नेकपा एमालेमा प्रवेश गरेका थिए ।