त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुनसहित युवक पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २०,मंगलवार १०:२३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित मंगलबार बिहान एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका २८ वर्षीय युवक रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । बिहान ७ बजेको समयमा कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनलाई १०० ग्रामसहित पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ । भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ ।

ऐनको व्यवस्था अनुसार १०० ग्राम सुनको एक लाख ५६५ रुपैयाँ राजस्व तिर्नुपर्ने भए पनि ती युवकले राजस्व छल्नकै लागि लुकाएर सुन ल्याएको कार्यालयले जनाएको छ ।