मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार १९:२०
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । निजगढ –काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइते अवस्थामा रहेका छन् । घाइते चारै जनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ । फास्ट ट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेको थियो । लोडरमा ५ जना चिनियाँ र एक जना नेपाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।  मृतक र घाइतेको पहिचान  भने खुलिसकेको छैन । घटनाबारे थप जान्ने प्रयास भइरहेको प्रहरीको भनाई छ ।