स्थानीय निर्वाचन : कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुले तोकेको भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयर, उपमहानगरपालिकाका मेयर र उपमेयर, नगरपालिकाका मेयर र उपमेयर, गाउँपालिकाका अध्यक्ष र उपाधयक्ष, वडाका अध्यक्ष पदका उम्मेदवारहरुले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने जनाएको हो ।
आयोगका अनुसार, महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ र वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यहरुले बढीमा ३ लाख खर्च गर्न पाउनेछन् । यस्तै, उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्यक सदस्यले बढीमा २ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउनेछन् ।
यस्तै, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ४ लाख ५० हजार तथा वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले २ लाखसम्म खर्च गर्न पाउनेछन् । आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले भने बढीमा ३ लाख ५० हजार र वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
उम्मेदवारले मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, प्रचारप्रसार, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा उम्मेदवारले तोकेको खर्च गर्न पाउनेछन् । यस्तै, जिल्ला समन्वय समितिका उम्मेदवार प्रमुख र उपप्रमुखले ५० हजार र अन्य पदकाले एकमुष्ट २५ हजार रुपैयाँ खर्च गर्न पाउने पनि आयोगले जनाएको छ ।
