मनहरी गाउँपालिका : वडा अध्यक्षका उम्मेदवार गोङ्बाद्वारा १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

तु खबर संवाददाता
२०७९ बैशाख १७, शनिबार १४:२७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर गोङबाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका गोङ्बाले शानिबार १८ बुद्धे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । जारी प्रतिबद्धता पत्रमा उनले सरकारी तलब भता नलिने तथा उक्त रकम समाजिक क्षेत्रमा लगानी गर्ने, वडा भित्रका सबै विद्यालयहरुमा शैक्षिक सुधार गर्दै अंग्रेजी माध्यमबाट अध्ययापन सुरु गर्ने, निःशुल्क शिक्षाको व्यवस्था गर्ने, स्वास्थ्य बीमा अनिवार्य गर्ने र बिपन्न बर्गलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने बताएका छन् ।

त्यसैगरी, ‘एक घर, एक प्लाष्टिक टनेल’ निर्माण गर्ने, खेतियोग्य जमिनमा डिप बोरिङ, लिफ्ट सिचाँइको व्यवस्था गरी कृषि तथा पशुपन्छी व्यवसायमा जोड दिई व्यक्तिगत आयस्रोत बढाउने, मल, बिउँ/बिजन सहज रुपमा उपलब्ध गराउनका लागि पहल गर्ने जारी पत्रमा उल्लेख छ ।

साथै उनले वडावासीहरुको आर्थिक स्तर बृद्धिको लागि विभिन्न प्रकारको व्यवसायिक तालिमहरुको व्यवस्था गर्ने, सुत्केरी महिलाहरुलाई सुत्केरी भता बापत सरकारले दिने दुई हजार पाँच सय रुपैयाँ घरमै गएर उपलब्ध गराउने, विद्युतीय भोल्टेज सुधार गर्दै काठको पोल विस्थापित गरी थ्रि फेज लाइन विस्तार गर्ने, साना तथा मझौला उद्योग स्थापन गर्न प्रोत्सन गरी रोजगारीको सृृजना गर्ने, आफनो कार्यकालमा खरकोे छानो भएको घर परिवारलाई जस्ता वितरण गरी खरको छानोमुक्त वडा घोषण गर्ने प्रतिबद्धता जनाएका छन् ।

हेर्नुहोस् प्रतिवद्धता पत्र ।