मकवानपुरमा गठबन्धनलाई जसपाको साथः ब्याक भए मेयर र उपमेयरका उम्मेदवार
मकवानपुर । जनता समाजवादी पार्टीले मकवानपुरमा गठबन्धनलाई सघाउने भएको छ । जसपाबाट हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दिपा लामा र हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिँदै आफुहरुको समर्थन गठबन्धनको आधिकारिक उम्मेदवारलाई भएको प्रतिक्रिया दिए ।
मनोनयन दर्ताको दोस्रो दिनसम्म पनि गठबन्धनमा सहमति जुट्न नसकेपछि जसपाले हेटौंडाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको थियो । तु खबरसँग कुराकानी गर्दै मेयर पदमा उम्मेदवारी दिएकी दिपा लामाले हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार महिला भएकोले पनि आफु ब्याक भएको बताइन् ।
त्यस्तै उपमेयरको उम्मेदवारीबाट ब्याक भएका खतिवडाले गठबन्धनको मर्म र भावनाको कदर गर्दै प्रतिगमनकारीको विरुद्ध आफुहरु एकजुट भएको प्रतिक्रिया दिए । उनले गठबन्धनको उम्मेदवारलाई जिताउन आफुहरु लागिपर्ने उल्लेख गरे ।
