उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई बानियाँको निर्देशन
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले पाँच दलीय गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धनबाटै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको भन्दै फिर्ता लिन निर्देशन जारी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विहिबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन विरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन् ।
उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्यत शक्तिविरूद्ध वर्तमान गठबन्धन बनेकाले स्वतन्त्र रुपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरे ।
‘लोकतन्त्र प्रेमी महान सपुतहरूको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षौं देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ । वर्षौंदेखि जरा गाडेर बसेको तानाशाही राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रको अन्त्यका लागि नेपाली काँग्रेसका अग्रज नेताहरुले एकत्रित भई पुर्याउनुभएको योगदान अनि नेपाली जनताको अथक संघर्षले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म यो मुलुक पुग्न सफल भएको हो ।’ विज्ञप्तीमा भनिएको छ, ‘प्राप्त उपलब्धिको रक्षा र परिवर्तनलाई आत्मासाथ गर्न नचाहाने कतिपय शक्तिहरु यो परिवर्तनको विरुद्ध अझै पनि विभिन्न षड्यन्त्रहरु गरिरहेको अवस्था छ । परिवर्तन विरोधी शक्तिहरूबाट देश र लोकतन्त्रलाई जोगाउँदै नेपाली जनताको स्वतन्त्रता र उन्नतीका लागि प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्ने क्रममा मिति २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भै केन्द्रीय स्तरमा नै पाँच दलीय गठबन्धन बीच तालमेल गरेर अगाडी बढ्ने सहमति भएबमोजिम यस बागमती प्रदेशमा समेत गठबन्धनमा आवद्ध दलहरु बीच सम्भव भएजति स्थानहरुमा तालमेल भएको अवस्था छ ।’
गठबन्धनमा आबद्ध दलहरुबीच भएको तालमेल बमोजिम आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि देशभरी नै उत्साह र उल्लासपूर्ण वातावरणमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिने कार्य सम्पन्न भएको र नेपालको संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्यत शक्तिविरुद्ध शान्ति, लोकतन्त्र, समृद्धि र परिवर्तनका पक्षमा समेत साथ दिएका दलहरूका बीच नेपाली काँग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनको मर्म र भावना अनुरुप संविधान र संघीयता रक्षाको लागि गठबन्धनमा रहेका दलका उम्मेदवारहरूलाई निर्वाचित गराउन हामी सबैको अहम भूमिका हुने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
