नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलद्वारा पार्टी परित्याग
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मनहरी, राक्सिराङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेको भन्दै पार्टी परित्याग गरेको बताए । पोखरेल र डीसी नेकपा एमाले विभाजनपश्चात् नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए । उनीहरु दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने बताएका छन् ।
पोखरेललाई कुशल संगठकको रुपमा चिनिन्छ । उनले पार्टीभित्र हेटौंडा उपमहानगरको मेयरको दावी समेत गरेका थिए । पोखरेललाई पछाडी पार्दै नेकपा एकीकृत समाजवादीकी नेत्रृ मीना लामाले सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न सफल भएकी थिइन् ।
