आजदेखि उम्मेदवारविरुद्धको उजुरीमाथि छानविन सुरु
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमाथि आजदेखि छानविन सुुरु हुने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।
प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । यस्तै, आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
यसैगरी, बैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ भने बैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २ सय २१ पदका लागि बैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
