स्थानीय तह निर्वाचन : मनोनयन दर्ताको आज अन्तिम दिन

तु खबर संवाददाता
२०७९ बैशाख १२, सोमबार ०८:४४

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारबाट सुरु भएको मनोनयन दर्ता आज पनि हुँदैछ । मनोनयन दर्ताको आज अन्तिम दिन पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुनेछ । मनोनयद दर्ताको लागि गत बैशाख ८ गते देशभरका स्थानीय तहका केन्द्र रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका थिए । कानून बमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि मनोनयन दर्ता गराउने व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैङ्क भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेस गर्नुपर्नेछ । दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।