हेटौंडाको मेयरमा ७ जनाको मनोनयन दर्ता

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १७:३५

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमानगरपालिकाको मेयर पदको लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

हेटौंडाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सृजना बतौला, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल र सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्रबाट लिला कुमारी आचार्य र देवराज पौडेलले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

यस्तै, हेटौंडाको उपमेयर पदका लागि २ जनाले मात्र मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । उनका अनुसार, हेटौंडाको उपमेयरमा मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाले मनोनयन दर्ता गराएका हुन् ।

हेटौंडाको मेयर र उपमेयर पदका लागि सत्तारुढ गठबन्धन, नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल, विवेकशील पार्टी लगायतका दलहरुले भोलि बैशाख १२ गते अपराह्न ५ बजेभित्रै उम्मेदवारी दर्ता गर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।