सत्तारुढ गठबन्धन सहमति नजिकः मकवानपुरमा यसरी हुँदैछ भागबण्डा

तु खबर संवाददाता
२०७९ बैशाख ९, शुक्रबार १८:०३

मकवानपुर । मकवानपुरमा सत्तारुढ पाँच दलीय गठबन्धन उम्मेदवार तय गर्ने विषयमा सहमतिको नजिक पुगेको छ । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा काठमाडौँमा भएको छलफलमा मकवानपुरको १० वटै पालिकाको उम्मेदवार तय गर्ने सन्दर्भमा सहमति जुटेको हो । भागबण्डा मिलाउन सकस भएपछि जिल्लाका नेताहरु छलफलको लागि आज विहानै काठमाडौँ पुगेका थिए ।

शुक्रबार सम्पन्न बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीलाई हेटौंडा उपमहानगरपालिका र एक पालिका दिने विषयमा छलफल भएको र छलफल सकारात्मक भएको बैठकमा सहभागी एक नेताले बताए । त्यस्तै नेकपा माओवादी केन्द्रलाई थाहा नगरपालिका र २ वटा पालिकाको नेतृत्व दिने तयारी छ ।  कांग्रेसले मकवानपुरको पाँच वटा पालिकाको नेतृत्व लिने गरी सहमति भएको बुझिएको छ ।

हेटौंडा उपमहानगरको उपमेयर कांग्रेसलाई दिने गरी गठबन्धनको केन्द्रीय संयन्त्रले यसअघि नै तय गरिसकेको छ । त्यसबाहेक बाँकी ९ पालिकामा भने सहमति जुट्न बाँकी छ । ‘१० वटै पालिकाको प्रमुखमा कुन दललाई कति भन्नेबारे सहमति जुटिसकेको छ । हेटौंडा र थाहाको नेतृत्व क्रमश एकीकृत समाजवादी र माओवादी केन्द्रले गर्नेछन् । बाँकी पालिकाहरुमा कुन दलको प्रभाव कुन पालिकामा राम्रो छ, सोही आधारमा उम्मेदवार तय गर्ने गरी सहमति भएको छ ।’ एक नेता भने ।