दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख ९,शुक्रबार १६:००
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भई हाल कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश शाही घाइते भएका छन् । उनको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।