भोलिदेखि सुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा
काठमाडौं । बैशाख ९ गते अर्थात भोलिदेखि देशैभर संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षामा नियमिततर्फ ३ लाख ६६ हजार ६ सय ६७ जना परीक्षार्थी सहभागी हुने उनले बताए । उनका अनुसार, एक लाख ५७ हजार ९ सय १४ जना छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा रहेका छन् । परीक्षाको लागि २ हजार ७ परीक्षा केन्द्र तोकिएको छ ।
यस वर्ष सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै संचालन गर्ने गरी तयारी पूरा भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए । यसअघि कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
