शैक्षिक गुणस्तर सुधार्न सरकारसँगै अभिभावक पनि जिम्मेवार बन्नुपर्छ : मन्त्री मोक्तान
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षाको गुणस्तर सुधार गर्न सरकारसँगै विद्यार्थी, शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्ने बताएकी छन् । बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री मोक्तान सो कुरा बताएकी हुन् ।
सबै पक्ष जिम्मेवार भए विद्यार्थीको भविष्य राम्रो हुने भन्दै उनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको रामेछापस्थित गाउँको उदाहरण दिइन् । ‘विद्यालयको जग्गा हेरेपनि पर्याप्त छैन, ठाउँ हेरेपनि उस्तै छ भीर,’ उनले भनिन्, ‘तर, पनि त्यहाँको शिक्षाको गुणस्तर र मिहेनत हेर्दा निक्कै खुशी लाग्दो छ ।’
तामाङ बस्ती भएपनि रामेछापको कुलमान घिसिङको गाउँको विद्यालय पढेका सबै विद्यार्थी डाक्टर, ईन्जिनियर भएको भन्दै मन्त्री मोक्तानले शैक्षिक गुणस्तर बढाउँदै असल नागरिक बनाउँन शिक्षक, विद्यार्थीसँगै अभिभावकपनि जिम्मेवार बन्नुपर्ने तर्क व्यक्त गरिन् । असल, सभ्य, अनुशासित नागरिक बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षकसँगै अभिभावक बढी सचेत बन्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयमा लामोसमय अध्यापन गराएका पूर्व शिक्षकहरु रामकृष्ण रोक्का र श्यामकुमार भारद्वाजलाई सम्मान गरको थियो । साथै, विद्यालयको अक्षय कोषमा आर्थिक सहयोग गरेको भन्दै स्थानीय चन्द्रबहादुर वाईबा र गोपी बर्तौलालाई पनि सम्मान गरेको थियो ।
महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१३ का वडाध्यक्ष मनोजकुमार वाईबा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, विद्यालय व्यस्थापन समितिका सदस्य बिरबहादुर गोले ‘सानु’, समाजसेवी बसन्तकुमार लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
