एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउने

तु खबर संवाददाता
२०७९ बैशाख ८, बिहीबार १०:०२
file-photo

काठमाडौं । नेकपा एमाले सचिवालय बेठक आज बस्दैछ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्न लागेको हो । बैठक बिहीबार दिउँसो १ बजे बालकोटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिए ।

उनका अनुसार, उक्त बैठकले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने छ । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

गठबन्धनको बुधबार बसेको बैठकले महानगर र उपमहानरपालिको भागबण्डा मिलाएको थियो । जस अनुसार, कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।

यस्तै, उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ । यसैगरी, माओवादीले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद, नेकपा एकीकृतले हेटौंडा उपमहानगरपालिकाको मेयर पद र जसपाले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।