सत्तारुढ गठबन्धनको बैठक आज पुनः बस्दै

तु खबर संवाददाता
२०७९ बैशाख ७, बुधबार ०९:५८
file-photo

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (बुधबार) पुनः बस्ने भएको छ । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको हो । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न नसेपछि फेरी बैठक बस्न लागेको हो । बैठकमा सहभागी नेताहरूले बैठक निष्कर्ष नजिक पुगेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलले पनि महानगरको भागबण्डामा सैद्धान्तिक सहमति जुटिसकेको र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन बाँकी रहेको बताए । उनका अनुसार ६ महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलले एक÷एक वटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको छ । आजको बैठकबाट यसलाई अन्तिम रूप दिइने नेताहरूले बताएका छन् ।