हेटौंडामा जर्नालिजम अवार्ड २०७९ हुँदै

तु खबर संवाददाता
२०७९ बैशाख ६, मंगलवार १६:२३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जर्नालिजम अवार्ड २०७९ हुने भएको छ । न्यू मिडिया एकेडेमी प्रा.लिको आयोजनामा अवार्ड बैशाख १० गते हुने भएको हो ।  एकेडेमीले मंगलबार हेटौंडा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्डबारे जानकारी गराइएको हो ।

सम्मेलनमा एकेडेमीका अध्यक्ष मणिराम गौतमले विभिन्न १३ विधामा नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । उनका अनुसार, उत्कृष्ट पत्रकार वर्ष अवार्ड (महिला र पुरुष), उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट नवप्रवेसी पत्रकारिता वर्ष अवार्ड (महिला र पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, रेडियो पत्रकारिता वर्ष अवार्ड, सम्पादक वर्ष अवार्ड र उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड गरी १३ विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट पत्रकार वर्ष अवार्ड (महिला र पुरुष) लाई नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ भने बाँकी सबै विधामा नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्वध्यक्षहरुलाई समेत सम्मान गरिने एकेडेमीका अध्यक्ष गौतमले बताए । एकेडमीले पहिलो हेटौैंडा जर्नालिजम अवार्ड युएईमा सम्पन्न गरेको थियो ।