स्थानीय तह निर्वाचन तोकिएको मितिमा हुन्छ : आयुक्त भण्डारी
मकवानपुर । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा नै हुने बताएका छन् । शनिबार हेटौंडामा भएको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन तोकिएकै समयमा हुने बताएका हुन् ।
आयुक्त भण्डारीले निर्वाचन सर्छ भनेर जिम्मेवार व्यक्तिले बोल्दै गर्दा विगतमा आफैंले लेखेर ल्याएको संविधानमा पनि एकपटक फर्केर हेर्नुपर्ने बताए । उनले निर्वाचन सर्छ भनेर आम जनतामा भ्रम छर्ने काम गर्नु भनेको जनतामा जान डराउनु सरह रहेकाले यस बारेमा पनि सचेत हुन आग्रह गरे । निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारलाई वेवास्ता गर्न समेत उनले आग्रह गरे ।
उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकोले कुनै पनि अवस्थामा निर्वाचन हुने कुरा प्रष्ट पारे । तोकिएको समयमा निर्वाचन नभए स्थानीय तहसँग सम्बन्धित ऐन कार्यान्वयनमा बाधा उत्पन्न हुने भन्दै निर्वाचन सम्पन्न गर्न सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ ।
उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचार संहिता लागू गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । आचारसंहिताले आयोगसहित राजनीतिक दल, तिनै तहका सरकार, पत्रकार, कर्मचारीलगायतका क्षेत्रलाई बाँध्ने भएकाले यसको उलंघन नगर्न पनि अनुरोध गरे ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ३० गतेको लागि समय तोकिएको छ । उनले उक्त निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रुपमा गरिरहेको भन्दै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृतसहित सम्पूर्ण कर्मचारीहरुलाई अभिमुखीकरण समेत गरिएको जानकारी दिए ।
