दुर्घटनामा परेर तीन जना प्रहरीको मृत्यु
ओखलढुंगा । ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा आज बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहान साडे ८ बजेको समयमा सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
मृत्यु हुनेमा बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की, प्रहरी जवान मनिक राजवंशी र रूपक विष्ट रहेका छन् । प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेर दुर्घटना हुँदा कार्की र राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाल घाइते छन् । उनीहरुलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । घाइते भएका प्रहरी नायब निरीक्षक धनराज खतिवडालाई भने स्थानीय मेडिकलमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ । उक्त घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
