एमाले र राप्रपा नेपालले सूर्य चिह्नबाट चुनाव लड्ने

तु खबर संवाददाता
२०७८ चैत्र ३०, बुधबार १५:१५

काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालले एउटै चिह्नबाट चुनाव लड्ने भएको छ । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए ।

सहमतिमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ । वार्तामा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो ।