प्रेस युनियनको महाधिवेशनको तयारी तीव्र, ट्रेड युनियन कांग्रेससँग छलफल
मकवानपुर । आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन तयारीको सन्दर्भमा सोमबार स्थानीय आयोजक समन्वय समितिले ट्रेड युनियन कांग्रेस मकवानपुरसँग छलफल गरेको छ ।
महाधिवेशन सम्पन्न गर्न आवश्यक सहयोग र समन्वयको लागि आग्रह गर्दै आयोजक समितिले ट्रेड युनियन कांग्रेसको बागमती प्रदेश र मकवानपुर पदाधिकारी तथा सदस्यहरुसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियाका क्रममा ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुले युनियनको केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाउनु मकवानपुरको लागि गौरवको विषय भएको बताउँदै महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ट्रेड युनियन कांग्रेसले महाधिवेशन सम्पन्न गर्नको लागि जनशक्ति परिचालनदेखि अन्य विविध सहयोग गर्न तयार रहेको जनाएको छ । नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष एवम् महाधिवेशन सचिवालय, मञ्च तथा स्वागत समिति संयोजकमा पोष्टराज अधिकारी (कुमार) को अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय सदस्य एवम् महाधिवेशन समन्वय उपसमिति संयोजक राममणि दाहाल, आवास समिति संयोजक रुपेश दुलाल, भोजन समिति संयोजक सुजन बिडारी, ट्रेड युनियन कांग्रेस बागमती प्रदेश उपाध्यक्ष विरेन्द्रकुमार लामा, मकवानपुर अध्यक्ष यमबहादुर श्रेष्ठ, उपाध्यक्ष ठाकुरप्रसाद चौलागाई, शर्मिला श्रेष्ठ, काउन मकवानपुरका अध्यक्ष खलिल मिया अन्सारी, उपाध्यक्ष इन्तियाज खानलगायतको सहभागिता रहेको थियो ।
महाधिवेशनको तयारीस्वरूप केहीदिनअघि युनियनले समन्वय उपसमिति, सचिवालय, भोजन, आवास समिति संयोजक चयन गरिसकेको छ । महाधिवेशनमा युनियनका करिब १ हजार पाँच सय जना प्रतिनिधि सहभागी हुनेछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।
