बागमती प्रदेशमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने तयारी छ : मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७८ चैत्र २८, सोमबार १७:१३

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने तयारी रहेको बताएका छन् । सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू बनाउने कार्यमा प्रदेश सरकार लागि परेको दाबी गरे ।

उनले विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवद्र्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर बागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने उनको भनाई छ । मुख्यमन्त्री पाण्डेले प्रदेश अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग मिलेर कम गर्न तयार रहेको समेत बताए ।

उनले आगामी बजेटमा प्रदेशले अनुसन्धानका लागि छुट्टै बजेट निकासा गर्ने र कानूनी बन्दोबस्त गरेर प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान पनि तयार रहेको बताए । त्यसको लागि काउन्सिलसँग मिलेर अघि बढ्न तयार रहेको उनको भनाई छ ।