सत्तामा रहेका दलले देशलाई संकटबाट जोगाउन केही योजना नबनाएको लिङ्देनको आरोप

तु खबर संवाददाता
२०७८ चैत्र २७, आईतवार १८:३८
file-photo

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाएका हुन् ।

‘पटक–पटकको आन्दोलन तथा झूटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर, नेपाली जनताको अवस्था परिवर्तन भएन,’ उनले भने, ‘सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेका छन् ।’ उनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका हुन् ।

उनले सीमित नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको आरोप लगाए । अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुःखदायी भएको बताए ।