‘स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने सम्भाजना रहेको बताएका छन् ।
पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले नेकपा एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने स्थानीय निर्वाचनमा राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएका हुन् । उनले भने, ‘राजनीतिक, कानुन र व्यवहारिक रुपमा सम्भव भयो र एमालेसँग साझदारी कायम हुनसक्यो स्थानीय चुनावमा एमालेकै चुनाव चिन्ह सूर्य लिएर उठ्ने सम्भावना छ ।’
पार्टीको केन्द्रीय कार्यसमितिले साझा चुनाव चिन्हबारे निर्णय गर्ने अधिकार आफूसहितका पदाधिकारीलाई दिएको उनले जानकारी दिए । उनले भने, ‘एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएका छौं । एमालेका केन्द्रीय तहका नेताहरुसँग छिट्टै दुईपक्षीय कुरा गरेर निष्कर्षमा पु¥याउने छौं ।’
