मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २५, शुक्रबार ०९:४७

बारा । बाराको पचरौता नगरपालिका वडा नम्वर ९ कुडवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई नहरमा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादव रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई प्रहरी चौकी लंगडाको सहयोगमा उपचारको लागि रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही दुर्घटनामा परेर अर्का एक जना पनि गम्भीर घाइते भएका छन् । दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका हुन् । घाइते बिरेन्द्रको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको जनाइएको छ ।