सत्ता गठबन्धन दलको जिल्लागत स्थितिको प्रतिवेदन पेस गर्न निर्देशन

तु खबर संवाददाता
२०७८ चैत्र २१, सोमबार ०९:२३

मकवानपुर । सत्तारुढ गठबन्धन दलको बागमती प्रदेश स्तरको संयन्त्रको बैठकले जिल्लागत स्थितिको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार बसेको बैठकले यही चैत्र २३ गतेभित्र जिल्लाको वस्तुगत स्थितिको विश्लेषणसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

बैठकले सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न प्रदेशका सबै जिल्लाले जिल्ला स्तरीय संयन्त्रको बैठक गरी वस्तुगत स्थितीको विश्लेषणसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

बैठकले सबै जिल्लाहरूलाई पालिका स्तरको संयन्त्रको बैठकले प्रस्तुत गरेको विश्लेषणको आधारमा वस्तुगत स्थितिको प्रतिवेदन तयार पार्न पाँचै वटा दलका जिल्ला समितिलाई निर्देशन दिएको छ । बैठकमा बागमती प्रदेश, नेकपा माओवादी केन्द्रका अध्यक्ष सरल सहयात्री, नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका सह–इञ्चार्ज जीवनराम श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकी बागमती प्रदेश प्रतिनिधि मिना पुन र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सोनाम सिं स्याङ्गतानको उपस्थित रहेको थियो ।

बैठकले प्रदेशका ११९ वटै पालिकाहरुमा सरकारमा सहभागी दलहरुले स्थानीय निर्वाचन २०७४ मा पाएको मतको अवस्थाको बारेमा पनि आगामी बैठकमा जानकारी गराउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गतेको लागि मिति तय भएको छ ।