मकवानपुरका आचार्य लेखक संघको केन्द्रीय सदस्यमा निर्वाचित

तु खबर संवाददाता
२०७८ चैत्र २०,आईतवार ०८:२१

मकवानपुर । मकवानपुर साहित्यकार हयग्रीव आचार्य नेपाली लेखक सङ्घको केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न सङ्घको सातौं राष्ट्रिय अधिवेशनबाट आचार्य खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

अधिवेशनले कवि तीर्थ श्रेष्ठलाई आगामी ३ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन गरेको छ । यस्तै, सहअध्यक्ष डा. रत्नमणि नेपाल, खुला उपाध्यक्ष शैलेन्दुप्रकाश नेपाल, कोषाध्यक्ष दामु मर्सिफुल खुला सचिव गणेश शर्मा र महिला सचिव अनुपमा रेग्मी पनि निर्विरोध चयन भएका छन् । मतदानबाट महिला उपाध्यक्षमा सन्ध्या पहाडी, महासचिव सोझो गाउँले र उपमहासचिवमा श्रीबाबु कार्की उदास निर्वाचित भएका छन् । अधिवेशनले कुल ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

निर्वाचनपछि सपथ ग्रहणमा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपाली लेखक सङ्घको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा देखिनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सातै प्रदेशमा आफ्ना नियमित बैठकसहित अन्य उपलब्धीमूलक कार्यक्रम गरेर सङ्घलाई बलियो रुपमा अगाडी बढाउने श्रेष्ठको भनाई छ ।

अधिवेशनमा शुक्रबार मकवानपुरका कवि छवि अनित्यको दोस्रो कविता सङ्ग्रह तुइनको बाटोको विमोचन गरिएको थियो । शुक्रबारदेखि दुईदिन चलेको राष्ट्रिय अधिवेशनमा देशभरबाट करिब तीन सय लोकतान्त्रिक लेखकहरुको सहभागिता रहेको थियो ।