पत्रकार महासंघ मकवानपुरको आयोजनामा प्रभातफेरी
मकवानपुर । नेपाल पत्रकार महासंघले स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । महासंघले ६७ औं स्थानपना दिवसको अवसरमा आज (बुधबार) बिहान हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडाको सीमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, चेम्बरमार्गहुँदै पुनः बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । बुद्धचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले समाचार लेखेकै कारण अझै पनि पत्रकारले धम्की सहन बाध्य रहेको बताए । उनले पत्रकारिता क्षेत्रलाई अंकुश लगाउन राज्य नै अग्रसर भइरहेको आरोप समेत लगाए ।
साथै उनले पत्रकारले आफू स्वयम् अनुशासनमा बाँधिएर आवाजविहीनको आवाज बाहिर ल्याउन प्रयास गर्नुपर्ने औंल्याए । प्रभातफेरी कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।
