राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपानेपालमा समाहित
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेको छ । राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, उपाध्यक्षद्धय खिल प्रसाद चौलागाई र मन डीसी, सहसचिव रन्जना बर्तौलासहित जिल्ला सदस्यहरु, १० वटै स्थानीय तहका अध्यक्षहरु, जनवर्गिय संगठनका अध्यक्षहरु, क्षेत्रिय अध्यक्षहरुको समितिलगायत नेता तथा कार्यकर्ताहरूले थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेको हो ।
मंगलबार राप्रपा मकवानपुरका अध्यक्ष सापकोटाद्वारा जारी गरिएको वक्तव्यमा पार्टीभित्र पछिल्लो समय सैद्धान्तिक बिचलन आएको, पार्टीमा बढ्दै गएको पूर्वाग्रही सोच, चिन्तन र संकीर्णताबाट पार्टी अगाडि बढ्न नसक्ने जिकिर गरिएको छ ।
जारी वक्तव्यमा नेपालको राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको दाबी गरिएको छ । मकवानपुरको समग्र आर्थिक विकास र समृद्धिमा थापाको महत्त्वपूर्ण योगदान रहेकाले कमल थापालाई ‘राजनीतिक अभिभावक’ भन्दै राप्रपा नेपालमा समाहित हुने वक्तव्यमा उल्लेख छ ।
