एमाले मकवानपुरले चैत्र २५ गतेसम्म उम्मेदवार टुंगो लगाउने

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १७:१३
file-photo

मकवानपुर । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले यही चैत्र २५ गतेसम्म उम्मेदवार टुंगो लगाउने भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गरेको छ ।

कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटिको बैठक चैत्र २३ र २४ गते तथा पालिका बैठक २५ गते तय भएको छ । वडा कमिटीको बैठकले वडाध्यक्षसहित सदस्यहरुको उम्मेद्वार तथा पालिका बैठकले अध्यक्ष तथा उपाध्यक्षको उम्मेद्वारहरु तय गर्ने र जिल्ला कमिटीलाई सिफारिस गर्नेछ ।

त्यसैगरी जिल्ला कमिटीको बैठक चैत्र २९ गते बस्ने र जिल्ला कमिटीले स्थानीय प्रदेशलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्ने छ । बैठकले पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागू गर्ने लगायतको निर्णय गरेको एमाले मकवानपुरका सचिव नविन सिग्देलले बताए ।