इटहरीमा बम विष्फोट दुई जना घाइते

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १०:०४

विराटनगर । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विष्फोट हुँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् । थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो । विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ ।