एक लाख म्यादी प्रहरीको लागि ३ लाखले दिए आवेदन

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १५:३९
file-photo

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन झण्डै ३ लाख जनाले आवेदन दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले चैत्र ६ गतेदेखि ११ गतेसम्मका लागि दर्खास्त दिन आह्वान गरेकोमा झण्डै ३ लाख जनाले आवेदन दिएका हुन् ।

म्यादी प्रहरीमा भर्ना हुन देशभरका २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएका भन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीको माग गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता केसीका अनुसार, म्यादी प्रहरीमा भर्ना आवेदन दर्ता गर्नेमा सबैभन्दा बढी मधेस प्रदेशका रहेका छन् । त्यहाँ ६८ हजार ६ जनाको आवेदन परेको छ । यसैगरी लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५ सय ६० जनाको आवेदन परेको छ ।

यसैगरी, प्रदेश नं. १ मा ५० हजार ९ सय ४४, बागमतीमा २७ हजार ८ सय ३४, उपत्यकामा १३ हजार ९ सय ५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २ य ४५ र सुदूरपश्चिममा २९ हजार ७ सय १४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको प्रवक्ता केसीले बताए ।

मंगलबारदेखि स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुनेछ भने क्रमशः विभिन्न चरणमा पास हुँदै जाने अन्तरवार्तासम्म पुग्नेछन् र २५ गते अन्तिम नतिजा निकालिनेछ ।