हेटौंडा–८ को कार्यालयमा तालाबन्दी

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १५:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले शुुक्रबार कार्यालयमा ताला लगाएको हो । उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् ।

सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि देखिएपछि बाध्य भएर प्रदर्शन गरेको नेपाली कांग्रेस हेटौंडा–८ का सभापति भुपेन्द्र कोइरालाले जानकारी दिए । उनीहरुले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट संकलन र कमाउ अभियानमा लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादीसहितका पार्टीका नेता कार्याकर्ताहरुले श्रेष्ठले व्यवहार सुधार नगरे आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् । वडा अध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित हुन् । यस विषयमा सम्बन्धित वडाका वडाअध्यक्ष श्रेष्ठसँग बुझ्न खोज्दा उनी फोन सम्पर्क हुन सकेन । उनीसँग फोन सम्पर्क हुन नसकेपछि आजका लागि कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका वडा सदस्य गोतामे मोक्तानसँग हामीले कुराकानी गर्दा उनले वडाअध्यक्षमाथि लगाइएका आरोपहरु गलत भएको बताए ।

उनले वडाअध्यक्ष श्रेष्ठले पक्षपातरहित ढंगबाट विगत ४ बर्षदेखि जनताको सेवा गर्दै आएको र हाल राजनीतिक प्रतिशोध साँध्नका लागि वडा कार्यालयमा तोडफोड र ताला लगाउने काम भएको बताए । सार्वजनिक जग्गामा बनेका भवनको बत्ती र पानीको विषयमा बुझ्न भनेर आएका युवाको टोलीले अतिरञ्जित ढंगबाट वडा कार्यालयमा हस्तक्षेप गरी तोडफोड र तालाबन्दी गरेको उनको भनाई छ ।