ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नवनिर्मित भवन उद्घाटन
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ मा रहेको ईलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । उक्त भवनको बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्ति, सुरक्षा कायम गर्न सजिलो भएको बताए । भवन निर्माणले प्रहरीको मनोबल उच्च भएको बताउँदै ठिंगन क्षेत्रको शान्ति, सुरक्षामा थप बल पुगेको उनले बताए ।

उक्त भवन बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र बागमती प्रदेश प्रहरी कार्यालयको समन्वयमा २ करोड २३ लाख ४३ हजार ४ सय १४ रुपैयाँको लागतमा निर्माण भएको हो ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्की, जिल्ला सुरक्षा समितिका पदाधिकारी, वडाध्यक्षलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

बागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरुको निर्माण कार्यको थालनी भएको थियो । तीमध्ये ३९ वटा भवनको निर्माण सम्पन्न भएको छ भने बाँकी भवन चैत्र र बैशाख महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जनाइएको छ ।
