स्थानीय चुनावमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने
काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि प्रहरीको संख्या थोरै हुने भएपछि प्रहरी प्रधान कार्यालयले सुरक्षाको जिम्मा सशस्त्र प्रहरी र सेनालाई दिन प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमामा मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र सेनालाई खटाउने गरी कार्यविधि बनाउन गृह मन्त्रालयमा प्रस्ताव पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए ।
२०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सरकारले २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । त्यतिबेला ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो ।
स्थानीय तहको निर्वाचन गराउन प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रताव गरेको थियो । तर, अर्थ मन्त्रालयले भने १ लाख मात्रै म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । यसअघिको स्थानीय निर्वाचनमा भन्दा यसपटक मतदान स्थल र केन्द्र थपिएका छन् । मतदान स्थल ८५ वटा र ३ हजार भन्दा बढी मतदान केन्द्र थपिएको बताइएको छ । थपिएको निर्वाचन केन्द्र र स्थलबारे निर्वाचन आयोगले चैत्र दोस्रो साता सार्वजनिक गर्ने बताइएको छ ।
