साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा दुई देशबीच रहदैआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस्तै, उनले प्रधानमन्त्री देउवासँग पनि भेट गरेका थिए । प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौं आइपुगेका थिए । उनी मंगलबार स्वदेश फर्कने छन् ।
