बागमती सरकार स्वेच्छाचारी ढंगबाट अघि बढ्यो –अष्टलक्षी शाक्य

तु खबर संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार १४:०१

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश सरकार स्वेच्छाचारी र संविधान विरोधी गतिविधिमा अग्रसर भएको आरोप लगाएको छ । सोमबार प्रदेशसभा बैठकमा प्रदेश संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले बागमती सरकार जनहितका काम गर्नेतर्फ नभई स्वेच्छाचारी ढंगबाट संविधान विरोधी गतिविधिमा अगाडि बढेको आरोप लगाइन् ।

उनले सरकारले आफ्ना पार्टीको कार्यकर्ता बढाउनको लागि टुक्रे योजना ल्याएको समेत बताइन् । पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले प्रदेश सरकारले ५ लाख रुपैयाँको योजना पार्टीमा कार्यकर्ता बढाउन मुख्यमन्त्री राजेन्द्र राजेन्द्र पाण्डेले वितरण गरेको आरोप लगाइन् । उनले नयाँ पार्टीमा कार्यकता बढाउन सरकारले गलत काम गरेको बताइन् ।

त्यसैगरी सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषयमा प्रतिपक्षीसँग सहमति नगरी बजेट नकटाउन उनले आग्रह गरेकी छिन् । उनले सरकारले चारसय जना कर्मचारी एकैपटक मेरो र तेरो आधारमा सुरुवा भएको भन्दै विरोध जनाइन् । शाक्यले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ती खारेज नगर्न र कर्मचारीलाई दबाब दिएर राजनीनामा दिन नलगाउन समेत आग्रह गरिन् ।