बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १८:३०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको नौं अधिवेशन अन्तर्गतको आज २ वटा बैठकहरु संचालन भएको थियो । आज बसेको पहिलो बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद शर्मा पाण्डेले नेकपा एमालेले उठाएको राष्ट्रिय सरोकारको मागहरुको जवाफ दिएका थिए । उक्त बैठकमा ३ वटा ऐन संशोधनका विद्येयकहरु पेश भएका थिए भने २ वटा विद्येयक पारित भएको थियो । साथै एउटा विद्येयक संसद्मा पेश भएको थियो ।

आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले संशोधनका लागि संसद्मा प्रस्तुत गरेको प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ माथिको सैद्धान्तिक पक्षमा छलफल भएको छ । छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

उनीहरुले विपद् व्यवस्थापनका लागि स्थानीय तहमा हुने डोजरे विकासलाई न्यूनीकरण गर्नुपर्ने तथा बायो इन्जिनियरीङ्गका प्रविधिहरु अपनाउन प्रदेश सरकार संवेदनशील हुनुपर्ने धारण राखेका थिए । सरकार विपद् पछि राहत वितरण भन्दा पनि विपद् न्यूनिरकणका लागि पूर्व तयारीमा लाग्नुपर्नेमा जोड दिएका थियो ।

प्रमुख प्रतिपक्ष दलका नेताहरुले सरकारले गलत सूचना सम्प्रषण गर्ने संचार माध्यमलाई कारवाहीको दायरामा ल्याउन सक्ने ऐन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले कर्मचारी र कार्यकर्ताहरुको तलब भत्ता वितरणमा केन्द्रीत हुनु भन्दा पनि गलत सूचना सम्प्रषण गर्ने संचार माध्यमलाई कारवाहीमा ल्याउने ऐन बनाउन माग गरेका थिए ।

त्यसैगरी, उक्त बैठकमा प्रदेश अनुसन्धान व्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति दलगत र गुट÷उपगुटको स्वार्थ भन्दा माथि उठेर प्रदेश सरकारले जनतालाई शान्तिसुरक्षा पुर्याउन, मानव अधिकारको प्रत्याभूति गर्न, जनतालाई विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन निष्पक्ष भूमिकाको खाचो परेको बताएका थिए ।