‘प्रमुख दलहरुको अदुरदर्शीताको कारण देश संकटको चक्रव्यूहमा फर्स्यो’

तु खबर संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १८:००
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुको अदुरदर्शीताको कारण देश संकटको चक्रव्यूहमा फसेको बताएका छन् । अध्यक्ष थापाले राजधानीमा आयोजित साक्षात्कारमा सो कुरा बताएका हुन् ।

उनले भने, ‘वाह्य शक्तिको चलखेल र प्रभाव तिव्र रुपले बढेको छ । नेपाल विश्व महाशक्तिहरुको रणनीतिक स्थल बन्नसक्ने संकेत देखा परेको छ । पछिल्लो समय एमसीसीका सम्बन्धमा विवाद देखिँदा त्यसले पनि नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलको केन्द्र बन्नसक्ने खतरा छ ।’

उनले ७ महिनादेखि संसद् अवरुद्ध रहेको र न्यायपालिकाभित्रको अराजकता अझै समाधान नभएको समेत स्पस्ट पारे । देशलाई संकटबाट मुक्त तुल्याउनको लागि ताजा जनादेश र संसद्को निर्वाचनमा चाँडो नै जानुपर्ने उपयुक्त विकल्प रहेको उनको भनाई छ ।

अध्यक्ष थापाले राप्रपा नेपाल राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दल बन्ने दाबी गरेका छन् । उनले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको बताउँदै अहिले पार्टीको संगठन निर्माणको काम युद्धस्तरमा भैरहेको बताए ।

उनले भने, ‘हामी अहिले युद्धस्तरमा संगठन निर्माणको तयारीमा छौं । स्थानीय तहको निर्वाचनमा हामी सहभागी छौं । हाम्रो प्राथमिकता संसदीय निर्वाचनमा छ । आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने तयारी गरेका छौं ।’