हेटौंडामा मनाइयो ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस
मकवानपुर । हेटौंडामा आज (मंगलबार) ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरुले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ र्याली कार्यक्रमको आयोजना गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौंडाले जनाएको छ ।
हेटौंडाको भुटनदेवी स्कुल अगाडिबाट सुरु भएको ¥याली बजार परिक्रमासंगै बुद्धचोकमा पुगेर कोण सभा गरी सम्पन्न भएको थियो । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले नेपालमा महिला हिंसाका विभिन्न घटनाहरुको कमी नआएको बताउँदै महिलाहरूलाई हिंसाबाट जोगाउन र हिंसा पीडितलाई न्यायबाट बन्चित नगर्ने अवस्थाका लागि सामाजिक संघसंस्थाले अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै, मानव अधिकार संरक्षण तथा बेचबिखनविरुद्धको संजालकी संयोजक आरती पाठकले देशमा अझै पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानूनको कार्यान्वयनमा जटिलताहरु कायमै रहेको बताइन् । साथै उनले आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको बताउँदै त्यसको न्यूनिकरण गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।
यसैगरी, गैर सरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाले महिलामाथि हुने हिंसा न्यूनिकरण अभियानमा पुरुषलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताइन् । उनले महिला र पुरुष दुबैले समान व्यवहार गर्यो भने समाजमा लैङ्गिक हिंसा न्यूनिकरणमा उल्लेखनीय सुधार आउने बताइन् ।

त्यसैगरी, मानव अधिकारकर्मी रक्षक रुद्रबहादुर खड्काले देशमा दिनानुदिन हिंसाको विभिन्न घटनाहरु बढ्दै गएकोमा दुःख व्यक्त गर्दै यस्ताखाले घटनाहरुलाई न्यूनिकरण गर्नका लागि महिला सम्बन्धी विभिन्न प्रकारका सन्देशमूल कार्यक्रमको आयोजना गर्नुपर्ने बताए ।
कार्यक्रममा इन्सेक, मानव अधिकार संरक्षण तथा मानव बेचविखनविरुद्धको संजाल, शान्तिका लागि साझा अभियान (कोक्याप), मेची महाकाली बुहारी संयुक्त आवाज, महिला प्रहरीलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
