मकवानपुरमा जारी प्रतिबन्धात्मक आदेश हटाइयो

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जारी गरेको प्रतिबन्धात्मक आदेश हटाएको छ । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले आगामी दिनमा कोभिड–१९ को संक्रमण फैलिन नदिन सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यावसायिक, औद्योगिक लगायतका गतिविधि संचालन गर्दा जनस्वास्थ्यका मापदण्डहरू निरन्तर अवलम्बन गर्ने, गराउने निर्णय गरेको छ ।
प्रशासनले जिल्लाभित्र कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउने कार्यमा निरन्तर समन्वय, सहकार्य तथा सहयोग पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कार्यालय, राजनैतिक दल, जनप्रतिनिधि, गैरसरकारी संस्था, उद्योगी व्यवसायी, यातायात व्यवसायी, होटेल व्यवसायी, सञ्चारकर्मी, नागरिक समाज लगायत सम्पूर्ण जिल्लावासीलाई धन्यवादसमेत दिएको छ ।