हेटौंडामा मानव अधिकार रक्षकहरुको दुई दिने प्रादेशिक सम्मेलन सम्पन्न

तु खबर संवाददाता
२०७८ फाल्गुन २१, शनिबार १६:४९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट सुरु भएको मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित दुई दिने सम्मेलन आज (शनिबार) सम्पन्न भएको हो ।

कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले १६ बुद्धे घोषणा पत्र जारी गरेकी थिए । घोषणा पत्रमा समानता, सम्मान, संरक्षण र सुरक्षाको लागि मानव अधिकार रक्षकसम्बन्धी तीन तहका सरकारले कानून तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रमा कार्यरत मानव अधिकार रक्षकहरूको मापदण्ड निर्धारण गरी वार्षिक प्रतिवेदन, उचित सम्मान र पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

यसैगरी, महिला, एकल महिला, मानव बेचबिखन पीडित महिला, दलित, अपाङ्ग, आदिवासी जनजाती, सिमान्तकृत, लोपोन्मुख, जेष्ठ नागरिक, असाहाय बालबालिका, किशोरी, एच.आई.भी संक्रमित, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, वैदेशिक रोजगारी पीडितलगायत समुदायका अधिकार रक्षकहरूको उचित व्यवस्था गर्नुपर्ने जारी घोषणा पत्रमा उल्लेख छ ।

आज सम्पन्न भएको सम्मेलनमा गौरसरकारी संस्था महासंघ मकवानपुरका जिल्ला अध्यक्ष डा. कृष्णप्रसाद धितालले राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संस्था र मानव अधिकार रक्षकबीच सहकार्य/समन्वयको अवस्थाबारे प्रष्ट पारेका थिए । यस्तै, शक्ति समूह नेपालको अध्यक्ष चरिमाया तामाङले मानव अधिकारका विशिष्ट सवालमा क्रियाशील मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा, चुनौती र संरक्षणका उपायहरुबारे जानकारी गराएकी थिइन् ।

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका सहायक प्रथम लोकनाथ घिमिरेले मानव अधिकार रक्षकहरुको अवस्था मुल्याङ्कन र विश्लेषण गर्ने तथा मानव अधिकार रक्षकहरुको विवरण तयार पार्ने प्रयोजनका लागि तयार पारिएको फारम तथा प्रश्नावलीको विषयमा प्रस्तुतीकरण दिएका थिए भने राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव सरिता ज्ञवालीले मानव अधिकार रक्षकहरुको अवस्था तथा स्थितीबारे प्रष्ट पारेकी थिइन् । सम्मेलनमा प्रदेशका १३ वटै जिल्लामा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरी एक सय जनाको सहभागी रहेको थियो ।