हेटौंडामा मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) बाट दुई दिने मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको छ । सम्मेलन मानव अधिकार आयोग नेपालको आयोजनामा सुरु भएको हो । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो ।
सम्मेलनमा इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले प्रदेशमा मानव अधिकार रक्षकको अवस्था र चुनौती, समग्र मानव अधिकार रक्षकहरुको सुरक्षा, अधिकार तथा पहिचान, अवस्था समस्या, चुनौती र समाधानका उपायहरु, मानव अधिकार रक्षकको सुरक्षा र चुनौती, राज्यका निकायको व्यवहार, सूचनाको पहुँच, धम्की आक्रमणलगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्वन्धमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका, प्रयासहरु, जवाफदेहीता र जिम्मेवारीलगायतका बारेमा प्रष्ट पारेका थिए ।
यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीलि थापालेले महिला मानव अधिकार रक्षक, अल्पसंख्यक तथा सिमान्तीकृत सवालहरुमा क्रियाशिल मानव अधिकार रक्षकहरुको सुरक्षा, संरक्षण र पहिँचान, रक्षकको अधिकार उपभोगको अवस्था, समस्या, चुनौती र सुरक्षाका विशेष मापदण्डलगायतको विषयमा प्रस्तुतीकरण दिएकी थिइन् ।

शनिबार सम्पन्न हुने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लामा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरी एक सय जनाको सहभागी रहेको राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले जनाएको छ ।

