कांग्रेस मकवानपुर अधिवेशनः बानियाँ र डीना मतदान प्रक्रियामा सहभागी भएनन्
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न अधिवेशनमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना मतदान प्रक्रियामा सहभागी भएनन् । संस्थापन पक्षका बानियाँको उम्मेदवार बुद्ध लामा र डीनाको उम्मेदवारको रुपमा आनन्दराम पराजुली प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका थिए । तर, बानियाँ र डीना दुवैले मतदान प्रक्रियामा भाग लिएनन् ।
संस्थापन इतर पक्षबाट पनि कांग्रेस मकवानपुरका सल्लाहकार जयराम लामिछाने प्यानलसहित चुनाव लडेका छन् । बेलुकी ६ बजे मतदान प्रक्रिया सकिएको छ । राति ९ बजेबाट मतगणना सुरु गरिने जनाइएको छ । गोपीशर्मा सुवेदीले जानकारी दिए । कुल १८ सय ५१ मतदाता रहेकोमा १७ सय ७५ मत खसेको छ । खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्ने सभापतिमा चयन हुनेछन् । अन्यथा पुनः पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुनेछ । कांग्रेसको प्रभावशाली नेताको रुपमा छबि बनाएका बानियाँ र डीना मतदान प्रक्रियामा सहभागी नहुनुलाई चासोका साथ हेरिएको छ ।
