बागमती प्रदेश : थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १५:५०

मकवानपुर । बागमती प्रदेश सरकारले थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी गरेको छ । सरकारले विभाजित मन्त्रालयका लागि आवश्यक रहेको भन्दै थप १४ वटा सवारीसाधन खरिद गर्ने तयारी गरेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता गरेका छन् ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले भने आफ्नै आन्तरिक बजेटबाटै गाडी खरिद गरिसकेको छ । प्रदेशका अन्य मन्त्रालयका मन्त्री र सचिवका लागि अझै गाडी नपुगेको भन्दै ९ वटा गाडी खरिद गर्न स्रोत सुनिश्चित गरिएको स्रोतले बतायो । बागमती प्रदेशमा विभाजन भएर बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी तथा सिंचाई मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालयले २÷२ वटा गाडी खरिद गर्न अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेको छ ।

यस्तै, युवा तथा खेलकुद विकास मन्त्रालयले पनि एउटा गाडी खरिद गर्न अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेका मन्त्रालयहरुलाई ६० लाखसम्मका गाडी खरिद गर्न अनुमति दिएको छ । प्रदेश सरकारले विभाजित मन्त्रालयका मन्त्री तथा सचिवहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म ५ करोड ७४ लाख १६ हजार रुपैयाँको सवारीसाधन खरिद गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।