निर्वाचन आयोग : नयाँ तीन दलसहित १० दल दर्ता

तु खबर संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १७:५२

काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि थप ३ वटा दल दर्ता भएको छ । स्थानीय निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन वटा दल दर्ता भएको निर्वाचन आयेगले जनाएको छ ।

आयोगमा नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएका हुन् । यससँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ । आयोगले गत फागुन ५ गते स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गरेपछि हालसम्म १० (दश) वटा राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन दल दर्ता गरेको आयोगले जनाएको छ ।

यसअघि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टीले निर्वाचनमा भाग लिन दल दर्ता गराइसकेको आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गराएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीलगायतका पार्टीले भने अझै दल दर्ता गरेका छैनन् ।